गाडीको चाप कम भएपछि नागढुंगाको पहिरो पन्छाउने काम सुरू हुने

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेकप्वाइन्ट नजिकै बुधबार साँझ खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोले सडकमा रूखसहित माटो थुप्रिएपछि नागढुंगा–मुग्लिन सडक खण्डमा यातायात अवरुद्ध भएको हो।

प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार बुधबार साँझसम्म एकतर्फी यातायात सञ्चालन गरिएको थियो भने बिहीबार बिहानसम्म पनि एकतर्फी रूपमा नै सञ्चालन भइरहेको छ।

‘पहिरो पन्छाउनका लागि आवश्यक जेसिबी र टिपर तयारी अवस्थामा राखिएका छन्, तर राति पनि पहिरो खसिरहेकाले पन्छाउने काम रोकिएको छ,’ प्रहरी निरीक्षक थपलियाले भने। ‘बिहान १० बजेदेखि पहिरो पन्छाउने कार्य पुनः सुरु गरिनेछ।’

उहाँले अहिले काठमाडौं भित्रिने सवारी साधनको चाप उच्च रहेको र बिहान १० बजेपछि चाप कम हुने अपेक्षा गरिएको हुँदा, त्यसपछि दुईतर्फी सडक सञ्चालन गर्न पहल गरिने बताए।

मौसममा सुधार आउने संकेत भएकाले पहिरो पन्छाउन केही सहज हुने अनुमान गरिएको छ। इन्स्पेक्टर थपलियाले काठमाडौं भित्रिने साना गाडीहरू र मोटरसाइकललाई धार्केबाट सितापाइला निस्कने वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएका छन्।

प्रतिक्रिया