अपी पावरले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगले अस्वीकृत गरेको छ। कम्पनीले आफ्नो वित्तीय उपकरण र लगानीलाई बजारमूल्यमा प्रस्तुत गर्दै नाफा–नोक्सान हिसाबमा लेखांकन गर्ने आधारमा लाभांश वितरणको प्रस्ताव गरेको थियो। तर, विद्युत नियमन आयोगले कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) अनुसार यस्तो कार्यलाई बर्जित गरिएको जनाउँदै सो प्रस्ताव अस्वीकृत गरेको हो।
अपी पावरको संचालक समितिको भदौ ७ गते बसेको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर नियमन आयोगले सो प्रस्तावलाई स्वीकृति नदिएपछि कम्पनीले लाभांश वितरण कार्य स्थगित गर्नुपर्ने भएको छ।
आयोगको निर्णयसँगै, कम्पनीको लाभांश वितरणमा प्रश्न उठेको छ, जसले लगानीकर्तामा असमझदारी र अन्योलता उत्पन्न गरेको छ। अब अपी पावरले नियामकको निर्देशन अनुसार लाभांश वितरणका विषयमा थप कदम चाल्ने सम्भावना रहेको छ।
कम्पनीले आगामी दिनमा नियामक निकायसँग समन्वय गरी पुनः लाभांश वितरण प्रस्ताव अघि सार्न सक्ने बताइएको छ।