सिन्धुली, – पछिल्लो तीन आर्थिक वर्षमा सिन्धुली जिल्लामा २ सय ३९ जनाले आत्महत्या गरेर प्राण त्याग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्म विभिन्न माध्यमबाट झुण्डेर र विष सेवन गरेर यी आत्महत्या गरिएका हुन्।
आर्थिक वर्ष २०७८/७९ मा ७१ जना, २०७९/८० मा ८८ जना र आर्थिक वर्ष २०८०/८१ मा ८० जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा युवा र वयस्क मात्र नभएर केही बालबालिका पनि रहेका छन्, जसले गर्दा आत्महत्या गर्नेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ।
स्थानीय तहगत तथ्यांक: सबैभन्दा बढी आत्महत्याका घटना कमलामाई नगरपालिकामा भएका छन्। यहाँ आर्थिक वर्ष २०७८/७९ मा २३ जना, २०७९/८० मा २५ जना र २०८०/८१ मा २६ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी, दुधौली नगरपालिकामा १६, १५, र १४ जनाले आत्महत्या गरेका छन्। सुनकोशी गाउँपालिकामा पनि ६, १३, र ४ जनाले आत्महत्या गरी प्राण त्याग गरेका छन्।
अन्य गाउँपालिकाहरूमा पनि आत्महत्याका घटनाहरू बढ्दै गएका छन्। उदाहरणका लागि, हरिहरपुरगढी गाउँपालिकामा २०७८/७९ मा २ जना, २०७९/८० मा ५ जना र २०८०/८१ मा १० जनाले आत्महत्या गरेका छन्।
मुख्य कारणहरू: आत्महत्याको प्रमुख कारणहरूमा प्रेममा धोका, बेरोजगारी, मानसिक असन्तुलन, र घरेलु हिंसा रहेका छन्। आत्महत्या गर्नेमा पुरुषहरूको संख्या धेरै भए पनि, आत्महत्या प्रयास गर्नेमा महिलाहरूको संख्या बढी रहेको प्रहरी तथ्यांकले देखाएको छ।