मन्त्री भण्डारीद्वारा चाडपर्वको समयमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव रोक्न कडा निर्देशन

काठमाडौँ, असोज १४ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा विपद्जन्य अवस्थाको फाइदा उठाउँदै महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने सम्भावनाप्रति गम्भीर हुँदै मातहतका निकायलाई कडा र प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएका छन्।

मन्त्री भण्डारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलला मन्त्रालयमै डाकेर बजारमा हुने ठगी र मूल्य वृद्धि नियन्त्रण गर्न तत्काल देशव्यापी रुपमा कठोर अनुगमनको व्यवस्था गर्न आग्रह गरेका हुन्। "बजारबाट विभिन्न माध्यमद्वारा महङ्गी, कालोबजारी र कृत्रिम अभावका सूचनाहरू दिनहुँ प्राप्त भइरहेका छन्। यस्ता सूचनाहरूलाई विभागले प्राथमिकताका साथ लिएर बजार अनुगमनलाई तीव्रता दिनुपर्ने आवश्यकता छ," मन्त्री भण्डारीले भने।

साथै, मन्त्री भण्डारीले चाडपर्वका लागि सञ्चालन गरिएका सुपथ मूल्य पसलहरूको प्रभावकारी व्यवस्थापनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई निर्देशन दिएका छन्। "उपभोक्ताहरूलाई आवश्यक वस्तुहरू सहज र सुलभ मूल्यमा उपलब्ध गराउनु महत्त्वपूर्ण छ। पसल थप सञ्चालन गर्नु पर्ने भए, थप गर्नुहोस्। मौज्दातको न्यूनतम स्तर कायम राख्नु अत्यावश्यक छ," मन्त्री भण्डारीले भने।

मन्त्री भण्डारीले नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टलाई चाडपर्वको समयका लागि एलपी ग्यासको आवश्यक मौज्दात बढाउन तत्काल कदम चाल्न निर्देशन दिएका छन्।

यसैबीच, होटल सङ्घ नेपालले अनुगमन नगर्ने कुनै सम्झौता भएको भनी प्रचारबाजी गरेको घटनाप्रति मन्त्री भण्डारीको सचिवालयले गम्भीर आपत्ति जनाएको छ। मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले भने, "होटल सङ्घसँग कुनै सम्झौता भएको छैन। बरु, केही होटलहरूले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा वस्तुहरू बिक्री गरिरहेको सूचनाका आधारमा कडाइका साथ अनुगमन गर्न निर्देशन दिइसकिएको छ।"

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रचलित कानुनबमोजिम नियमित बजार अनुगमन गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउन हरसम्भव प्रयासरत रहेको जनाएको छ।

प्रतिक्रिया