काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् । दुवै पक्षले आ–आफ्ना उम्मेदवार टुंग्याउने अन्तिम तयारी तीव्र पारेका छन् ।
संस्थापनइतर समूहबाट अध्यक्षमा ईश्वर पोखरेल उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । उपाध्यक्ष पदमा एक जनाको नाम टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ ।
महासचिव पदमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने भएका छन् । बाँकी दुई उपमहासचिव पदका उम्मेदवार को हुने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।
सचिव पदका लागि रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटा उम्मेदवार बन्ने भएका छन् । बाँकी दुई सचिव पदका उम्मेदवार टुंग्याउन पार्टीभित्र आन्तरिक परामर्श भइरहेको छ ।
यसैबीच, एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । आइतबार साँझ प्रकाशित कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध तथा सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ ।
बिहान १० बजे दाबी–विरोधमाथि छानबिन तथा निर्णय गर्ने, १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यसैगरी, बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारका लागि दर्खास्त फाराम वितरण गरिनेछ ।
बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उम्मेदवारको दर्खास्त दर्ता, दिउँसो २ः३० बजे प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ ।
दिउँसो ३ः१० बजे उजुरीमाथि छानबिन तथा निर्णय, ३ः१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।