सांसदको सचिवालयमा १६ जना! मन्त्रीपरिषद्कै हाराहारीमा संरचना, सिन्धुलीमा चर्कियो चर्चा





सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुली क्षेत्र नं. १ का सांसद धनेन्द्र कार्कीले गठन गरेको १६ सदस्यीय सचिवालय अहिले चर्चाको केन्द्रमा आएको छ। कारण—एक सांसदको सचिवालयमा समेटिएको जनशक्ति संख्या नेपाल सरकारको मन्त्रिपरिषद्कै हाराहारीमा पुग्नु हो।


सांसद कार्कीका अनुसार सचिवालयमा १ जना वैतनिक प्रमुख स्वकीय सचिव छन् भने बाँकी १५ जना अवैतनिक रूपमा जिम्मेवारीमा रहेका छन्।


नेपाल सरकारको मन्त्रिपरिषद्मा १७ जना मन्त्री रहेको अवस्थामा सांसद कार्कीको सचिवालयमा १६ जना समेटिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठ्न थालेको छ—‘सांसदको सचिवालय कि मिनी मन्त्रिपरिषद्?’


सांसद कार्की पक्षले भने यो संरचना जनतासँग प्रत्यक्ष सम्पर्क, क्षेत्रीय समस्या पहिचान, गुनासो सुनुवाइ तथा विभिन्न विषयमा समन्वय गर्न निर्माण गरिएको जनाएको छ। अवैतनिक सदस्यहरूले पारिश्रमिक नलिने भएकाले यसलाई परम्परागत कर्मचारी संरचनाभन्दा फरक स्वयंसेवी जनशक्ति परिचालनको अभ्यासका रूपमा लिइएको दाबी गरिएको छ।


तर, यति ठूलो सचिवालय आवश्यक किन पर्‍यो? १५ जना अवैतनिक सदस्यको वास्तविक भूमिका के हो? उनीहरूले जनताको काममा कस्तो योगदान दिनेछन्?—यी प्रश्नले पनि चर्चा पाउन थालेका छन्।


सिन्धुलीको राजनीतिमा सांसदको सचिवालयलाई लिएर देखिएको यो नयाँ अभ्यासले आगामी दिनमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।


१६ जना सचिवालय सदस्य, एक जना वैतनिक—बाँकी सबै अवैतनिक।

अब प्रश्न एउटै : यो जनसेवाको नयाँ मोडल हो कि सांसदको ‘मिनी मन्त्रिपरिषद्’?


प्रतिक्रिया