गण्डकी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ। डेङ्गीको संक्रमणको उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा बुधबार राति उनको निधन भएको हो। नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाले गौचनको निधनको पुष्टि गरेका छन्।
गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत गण्डकी प्रदेश सभामा निर्वाचित भएकी थिइन्। उनी प्रदेश सभामा सक्रिय सदस्यका रूपमा आफ्नो योगदान दिँदै आएकी थिइन्।
पारिवारिक स्रोतका अनुसार, हाल उनको शव अस्पतालमै राखिएको छ र उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिनेछ। गौचनको असामयिक निधनले नेपाली कांग्रेस र गण्डकी प्रदेशमा शोकको छायाँ छाएको छ।
२९ कार्तिक २०८१, बिहिबार ०७:४५ मा प्रकाशित