काठमाडौंमा अविरल वर्षाको प्रभाव : करखुसी खोलामा पहिरो, सडक भासिँदा बस्ती जोखिममा


काठमाडौँ — गए रातिदेखि लगातार परेको वर्षाका कारण काठमाडौँ महानगरपालिका–१४ को कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको किनारमा आज बिहान करिब ९:०० बजे ठूलो पहिरो गएर सडक भासिएको छ। उक्त सडक छेउका घरहरू समेत जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।

घटनापछि काठमाडौँ महानगरपालिकाका प्रतिनिधिहरू, महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको टोली तत्काल स्थलमा पुगेर राहत तथा सुरक्षात्मक कार्यमा जुटेका छन्। हाल बोरा र ग्राभेलको प्रयोग गरी खोलाको कटान रोक्ने प्रयास भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।



महानगरपालिकाका अनुसार, निरन्तरको वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा बाढी–पहिरोको जोखिम बढेको छ। यदि कुनै बस्तीमा डुबान वा क्षति हुने अवस्था देखिएमा नजिकका सुरक्षित विद्यालयहरूमा बासस्थानको व्यवस्था मिलाइएको छ।




जोखिमयुक्त बस्तीका स्थानीयलाई सतर्क रहन महानगरपालिकाले आग्रह गरेको छ। साथै समस्या परेमा तुरुन्त सम्पर्क गर्नका लागि निम्न हेल्पलाइन नम्बरहरू सार्वजनिक गरिएको छः

📞 १६६००१०५५११
📞 ०१५९०१७६४
📞 ०१५९०१७६३ (KMC Police)

काठमाडौँ महानगरपालिकाले सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेको छ।

✍️आमा दर्शन न्यूज

प्रतिक्रिया