जापानको सागरमा अमेरिका–जापानको संयुक्त सैन्य अभ्यास, चीन–रूसको गतिविधिपछि सुरक्षा सतर्कता

काठमाडौँ । अमेरिकाका परमाणु–सक्षम बमवर्षक विमान र जापानी लडाकू विमानले जापानको सागर क्षेत्रमा संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन्। यो अभ्यास चीन र रूसले जापान तथा दक्षिण कोरियाको वरपर संयुक्त सैन्य गतिविधि सम्पन्न गरेको भोलिपल्ट नै गरिएको हो।

जापानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भन्यो, “जापान र अमेरिका कुनै पनि परिस्थितिमा बल प्रयोग गरेर गरिने एकतर्फी परिवर्तन स्वीकार गर्ने छैनन्। जापानी आत्म–रक्षा बल तथा अमेरिकी सेना पूर्ण रूपमा तयार छन्।”

संयुक्त अभ्यासमा दुई अमेरिकी B–52 बमवर्षक, तीन जापानी F–35 स्टिल्थ लडाकूतीन F–15 विमान सहभागी थिए।

जापानले मंगलबार राति नै आफ्नो वायुसेनालाई चीन र रूसका विमानहरूले सञ्चालन गरेको संयुक्त गस्ती मिसनमाथि निगरानीका लागि पठाएको थियो। जापानी चिफ अफ स्टाफ जनरल हिरोआकी उचिकुराले सो गतिविधिलाई “जापानको सुरक्षाका दृष्टिले गम्भीर चिन्ताको विषय” भएको बताउनुभयो।

चीन र रूस भने आफ्नो अभ्यासलाई नियमित प्रक्रिया भएको बताउँदै आएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले प्रतिक्रिया दिँदै भने, “जापानले अनावश्यक हल्ला गर्नुपर्ने वा व्यक्तिगत रूपमा लिनुपर्ने कुनै कारण छैन।” (रोयटर्स)

प्रतिक्रिया