बर्दिया जिल्लाको राजापुर नगरपालिका–८ पुरैनामा सोमबार बाघको आक्रमणबाट पाँचजना घाइते भएका छन्। घाइतेहरूमा अर्जुन थारु, चिलु थारु, खुशीराम थारु, सुरज थारु, र रणबहादुर थारु रहेका छन्।
स्थानीय उखुबारीमा लुकेर बसेको चितुवा प्रजातिको बाघले आक्रमण गर्दा अर्जुन थारुको हातमा गहिरो चोट लागेको छ भने चिलु थारुको दाहिने हातको औँलाको हड्डी भाँचिएको छ।
घटनाका क्रममा अर्जुन थारुले आफ्नो साथमा रहेको काठको मुक्कुन्डोले बाघलाई प्रहार गरेपछि बाघ घाइते भएर तोरीवारीतर्फ भागेको बताइएको छ।
घाइतेहरूको उपचार राजापुरको एक मेडिकलमा भइरहेको छ भने केही घाइते घर फर्किसकेका छन्। स्थानीयवासीले गाउँमा नै बाघको आक्रमण हुन थालेपछि गहिरो चिन्ता व्यक्त गरेका छन्। आहाराको खोजीमा बाघ मानव बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्।
"वन्यजन्तुले मानव बस्तीमै आएर आक्रमण गर्दा प्रतिकार गर्नुपर्छ, तर त्यसका लागि पनि कानूनी समस्या झेल्नुपर्छ। प्रतिकार नगरौँ भने ज्यान जोखिममा पर्छ," घाइते अर्जुन थारुका बुबा महेशराम थारुले आफ्नो पीडा सुनाउँदै भने।
स्थानीय प्रशासन र निकुञ्ज कार्यालयले वन्यजन्तु तथा मानवबीचको द्वन्द्वलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने माग स्थानीयले गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता