नेप्से परिसूचकमा भारी गिरावट, २९०० विन्दुभन्दा तल झर्‍यो

काठमाडौं, साउन १९ –साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३.७३ अंकले घट्दै २८५८.९० विन्दुमा झरेको छ। नेप्से परिसूचक ८ दिनपछि पुनः २९०० विन्दुभन्दा तल झरेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले, फ्लोट इन्डेक्स ४.२२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.५२ अंकले घटेका छन्।

बजार परिसूचकसँगै कुल कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो बिहीबार १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। यो दिन ३१९ कम्पनीको ३ करोड २२ लाख ६० हजार कित्ता शेयर १ लाख ५२ हजार ५१८ पटक खरिदबिक्री भएका छन्।

यद्यपि बजारमा गिरावट देखिए पनि दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। ट्रेड टावर र शिव श्री हाइड्रोपावरको शेयरमा उच्च वृद्धि भएको हो। यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ।

विपरीत, सान्भि इनर्जीको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा झरेको छ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी ७५ करोड ३९ लाख रुपैयाँको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यसपछि हिमालयन रि इन्स्योरेन्सको साढे ७१ करोड रुपैयाँ र हिमालयन डिष्टिलरीको करिब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेमा सूचीकृत १३ वटै उपसमूहको परिसूचक घटेको छ। तीमध्ये ‘अन्य’ उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको हो। त्यसैगरी, लघुवित्त उपसमूह ३ प्रतिशतभन्दा बढीले र बैंकिङ्ग, लगानी, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया