प्रधानमन्त्री बालेन शाह : ‘यो रसुवा, नुवाकोट वा धादिङको मात्र पीडा होइन, सिंगो नेपालको साझा बज्रपात हो’



काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा, नुवाकोट र धादिङमा आएको विपत्तिलाई कुनै एक क्षेत्रको मात्र समस्या नभई सिंगो देशको साझा पीडा भएको बताएका छन्।


बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको समयमा सरकार र राज्य संयन्त्रले निराशा होइन, जनतामा हिम्मत, भरोसा र आड दिने गरी काम गर्नुपर्ने बताए।


उनले विपत्तिका कारण शरीर थकित भए पनि विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्ने बताए।


प्रधानमन्त्री शाहले भने, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।”


विपत्तिमा आफन्त गुमाएका तथा अझै आफ्ना प्रियजनको खोजीमा रहेका परिवारको पीडा गम्भीर रहेको उल्लेख गर्दै उनले सरकार पीडित नागरिकको साथमा रहेको बताए।


“मन भक्कानिँदा पनि एकापसमा बिलौना गर्ने समय छैन। संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ,” उनले भने।


प्रधानमन्त्री शाहले विपत्तिसँग दृढ संकल्प र साहसका साथ सामना गर्नुको सरकारसँग अर्को विकल्प नरहेको स्पष्ट पारे।


“दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन। हामी लडिरहेका छौँ,” प्रधानमन्त्री शाहले संसदमा भने।

प्रतिक्रिया