काठमाडौं — हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ पर्व यस वर्ष आजबाट सुरु भएको छ। यो १५ दिनसम्म धुमधामका साथ आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ।
दसैँको पहिलो दिन घटस्थापना गरिन्छ, जस अन्तर्गत घरघरमा विधिपूर्वक दियो, कलश, र गणेश स्थापनासहित देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। आज बिहानै नित्यकर्म पश्चात् नजिकको नदी वा शुद्ध स्थलबाट बालुवा वा माटो ल्याई पूजा कोठामा यव अर्थात् जौँ रोप्ने परम्परा रहेको छ। यसलाई जमरा राख्ने भनिन्छ, जुन विजयादशमीको दिन टीका र प्रसादका रूपमा ग्रहण गरिन्छ।
धर्मशास्त्रका अनुसार घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार साइत तोकेको हो।
यस नवरात्रभर महाकाली, महालक्ष्मी, र महासरस्वतीका नौवटा रूपहरूको पूजा गरिनेछ। नौ दिनसम्म शैलपुत्रीदेखि सिद्धिदात्री देवीसम्मको विधिपूर्वक आराधना हुनेछ।
विजयादशमीको साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको छ भने देवी विसर्जनको साइत बिहान ८:३३ बजे तोकिएको छ।
दसैँको समयमा शक्तिपीठहरूमा विशेष पूजाआराधना हुने गर्छ भने जनमानसमा बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वको रूपमा पनि लिइन्छ।