लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ, २७ मङ्सिर लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। यससँगै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक उपविजेतामै सीमित भएको छ। पहिलो संस्करणको फाइनलमा पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।


उपाधि जितेसँगै लुम्बिनी लायन्सले नगद एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ।


सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले नौ ओभरमै चार विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीका लागि दिनेश अधिकारीले उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा एक चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४२ रन जोडे। डार्सी शर्टले १४ रन बनाए भने कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए। निरोशन डिक्वेला ११ रनमा अविजित रहे। सन्दिप जोरा शून्य रनमै आउट भए।


सुदूरपश्चिमका बलरहरूमध्ये हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै समेटिएको थियो। टोलीका लागि इशान पाण्डेले ५१ बलमा एक चौकाको सहयोगमा सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन जोड्दा हरमीत सिंह र स्कट कुगेलाइनले समान १०–१० रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।


सुदूरपश्चिमलाई कम स्कोरमै रोक्न लुम्बिनी लायन्सका बलरहरूले प्रभावशाली प्रदर्शन गरे। शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट लिए भने टीका भण्डारीले एक विकेट हात पारे।

प्रतिक्रिया