लहरको असर सडकमा: ट्राफिकले भन्यो—‘बिस्तारै गए अवश्य पुगिन्छ’

काठमाडौं । शीतलहरसँगै राजधानीमा सवारी दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारी चालक तथा पैदलयात्रुका लागि विशेष ११ बुँदे सावधानी निर्देशिका सार्वजनिक गरेको छ।

ट्राफिक कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार पछिल्लो समय बिहान–बेलुकाको चिसोमा सडक चिप्लो हुने, दृश्यता कमजोर हुने र चालकहरूको लापरवाही बढ्दै गएपछि दुर्घटना जोखिम उच्च बनेको छ।

“अनियन्त्रित सवारी, मोबाइल चलाउँदै गाडी हाँक्ने, सडकमै पार्किङ गर्ने जस्ता गुनासो धेरै आएका छन्,” एसपी सुवेदीले बताए, “यसले दुर्घटना बढिरहेका छन्। यस्तो समयमा चालक र पैदलयात्रुले थप सतर्कता आवश्यक छ।”

ट्राफिक प्रहरीद्वारा जारी ११ सावधानी टिप्स

१. गाडी चलाउनुअघि अवस्था अनिवार्य जाँच – वाइपर, हेडलाइट, ब्रेकलगायत सबै उपकरण ठीकसंग काम गर्छन् कि छैनन्, यकिन गर्नुपर्ने।

२. चिप्लो सडकमा दूरी कायम – शीतलहरले सतह चिप्लो बनाउने भएकाले सामान्यताभन्दा धेरै ब्रेकिङ दूरी राखेर सवारी चलाउनुपर्ने।

३. नियन्त्रित गति र घुम्तीमा हर्न – गति सीमित राख्ने र मोड–घुम्तीमा हर्नको प्रयोग अनिवार्य।

४. मोबाइल प्रयोग नगर्नू – सवारी चलाउँदा पूर्ण ध्यान सवारी, सडक र यात्रुमा राख्नुपर्ने।

५. फग लाइटको प्रयोग – दृश्यता कम हुँदा धुवाँबत्ती (फग लाइट) प्रयोग गर्नुपर्ने।

६. जथाभावी पार्किङ निषेध – बिग्रिएको सवारी सडकमा छोड्न नहुने, सुरक्षित स्थानमा लगेर मात्र राख्नुपर्ने।

७. मोटरसाइकल चढ्दा चम्किलो ज्याकेट – सेतो वा टल्कने (रिफ्लेक्टिभ) ज्याकेट प्रयोग गर्नुपर्ने।

८. बिहान–साँझ सडक क्षेत्र हिँड्न नहुने – सम्भव भएसम्म सडक क्षेत्रभन्दा टाढा हिँड्नुपर्ने।

९. फुटपाथ, आकाशेपुल र जेब्राक्रसिङ प्रयोग – फुटपाथ नभए दायाँ किनाराबाट अत्यन्त सावधानीपूर्वक हिँड्नुपर्ने।

१०. सडक मर्मतस्थलमा स्पष्ट सन्देश – मर्मत भइरहेको स्थानमा स्पष्ट सूचना बोर्ड राख्नुपर्ने।

११. ‘बिस्तारै गए अवश्य पुगिन्छ’ – ट्राफिक नियम सुरक्षाका लागि भएकाले हतार, गति र लापरवाहीबाट टाढा रहन आग्रह।

ट्राफिक प्रहरीले शीतलहरमा सडक दुर्घटना रोकथाम सबैको सहकार्यमा सम्भव हुने भन्दै चालक तथा पैदलयात्रुलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

—आमा दर्शन न्यूज

प्रतिक्रिया