ससुराको यौन दुर्व्यवहार र धम्कीपछि बुहारीले आत्महत्या गरेको आरोप, एक पक्राउ


काठमाडौं । सप्तरीमा आफ्नै बुहारीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेका छन्।


जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असार १२ गते राति स्थानीय सरस्वती राम आफ्नै ओछ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो।


प्रारम्भिक अनुसन्धानका क्रममा मृतक सरस्वतीमाथि उनका ससुरा रामेश्वरले पटक–पटक यौनजन्य दुर्व्यवहार गरेको खुलेको प्रहरीले जनाएको छ। उक्त विषय गाउँमा सार्वजनिक भएपछि स्थानीयस्तरमा पञ्चायतसमेत बसेको थियो। पञ्चायतका क्रममा रामेश्वरले सरस्वतीलाई आफ्नो बयान फेर्न दबाब दिएको र बयान नफेरे ज्यानसमेत लिने धम्की दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार लगातारको मानसिक तनाव र धम्कीका कारण सरस्वतीले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।


स्थानीय स्रोतका अनुसार पञ्चायतमा पीडित महिलालाई नै दोषी देखाउने तथा घटनालाई दबाउने प्रयाससमेत भएको थियो। उक्त पञ्चायतमा संलग्न अन्य व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।


बोदेबरसाईन नगरपालिका–४ का वडाध्यक्ष किरन साहले घटना भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेकाले विस्तृत टिप्पणी गर्न नमिल्ने बताएका छन्।


पक्राउ परेका रामेश्वर रामविरुद्ध आत्महत्याका लागि दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ।


प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया