समयसँगै असल र खराबले आ–आफ्नो स्वरूप फेर्छन्। हिजो असल लाग्ने कुरा आज खराब बन्न सक्छ। विगतमा खराब भनिएका कैयौँ कुरा अहिले असल साबित भएका छन । इतिहासले यो कुरा हामीलाई बारम्बार सिकाउँदै आएको छ। समयसँगै कैयौँ कुरा लोप हुँदै जान्छन्, जसरी डायनासोर लोप भए। कुनै समय हरेक पैसावालाको गोजीमा झुन्डिने वाकमेन अहिलेको जेन जी पुस्ताले देखेको पनि छैन। अहिले हरेकको हातमा घण्टौँ रहने मोबाइल फोन दुई दशक अगाडि देख्न पाउँदा खुसी मिल्थ्यो।
हात–हातमा स्मार्ट फोन बोकेको पुस्ता विगतको भन्दा स्मार्ट छ भन्ने कुरामा दुईमत रहँदैन। अरू कुरामा मात्र स्मार्ट हो कि भन्ने लागिरहेको बेला अहिलेको जेन जी पुस्ताले राजनीतिमा पनि स्मार्ट छ भन्ने कुरा परिभाषित गरिरहेको छ। सुशासन चाहने र आफ्ना अधिकारका लागि लड्ने यो पुस्ता हिम्मत र साहसको दरिलो प्रमाण हो।
आफ्ना आमाबुबाले मेहनत गरेर कमाएको पैसा अनेक करका रूपमा राज्यलाई तिरेको तर सेवा–सुविधा भने दिक्कलाग्दो पाएको, राजनीति गरेकै भरमा नेताहरूका छोराछोरीले कामै नगरी राजकीय जीवनशैली बाँचेको देखेर आफ्नो पढाइ र स्मार्ट फोनमै रमाइरहेको जेन जी पुस्ता राजनीतिमा सडकबाट झनै स्मार्ट रूपमा उदाउन सफल भएको छ।
प्राकृतिक रूपमा सम्पन्न भएर पनि देश गरिब हुनु, जिउनकै लागि जनता विदेश जान बाध्य हुनु, सबै साथी–संगी विदेश जाने योजना बनाउनुले निराश बनेको जेन जी पुस्ताले “जे गर्ने, देशमै गर्ने” भन्ने अठोट बोकेको देखिन्छ। यो विद्रोह झट्ट हेर्दा सफल भएको जस्तो लागे पनि यसको सफलता वा असफलता अबका दुई–तीन दशकमा मात्र मापन गर्न सकिनेछ।
विगतमा जनताको विद्रोह शासक वर्गसँग हुन्थ्यो। व्यवस्था परिवर्तनका लागि विद्रोह हुन्थे, तर यो विद्रोह व्यवस्था होइन, अवस्था परिवर्तनका लागि भएको देखिन्छ। यसर्थ जेन जी आन्दोलनको अपनत्व लिन चाहने हरेकले आफूमा देश बनाउने जिम्मेवारी रहेको महसुस गर्नु जरुरी छ।
अबको नेपाल सुशासन र समृद्धितर्फ लम्किएको खण्डमा दुई–तीन दशकभित्र संसारभर सुशासनका ठूला–ठूला आन्दोलन र क्रान्ति हुनेछन्, र ती विद्रोहको नेतृत्व नेपालले गरिरहनेछ। अबका पाँच दशक जेन जी पुस्ताले नेतृत्व गर्ने भएकाले यो पुस्ताको सुशासन र समृद्धिको क्रान्तिको नेतृत्व नेपालीले गर्न पाउनु गर्वको विषय हुनेछ। हाम्रो पुस्ता यसप्रति सचेत हुन जरुरी छ।
आर्थिक समृद्धि र सुशासन नै जनतालाई सहज रूपमा देशमै बाँच्ने आधार सिर्जना गर्ने माध्यम हुन्, र संसारलाई पनि यही कुराले लालायित गराउने तथ्य स्पष्ट छ।
भावी राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थ र राजनीतिक दलहरूको स्वार्थभन्दा माथि उठेर जनताको सर्वहितमा ठोस कदम चाल्न सकेको खण्डमा, देशका कुनाकाप्चामा रहेका अवसरहरू खोतलेर समृद्ध र सुशासित नेपालको खाका कोर्न सकेको खण्डमा, संसारले तत्काल नेपालको मार्ग पछ्याउन थाल्नेछ।
भ्रष्टाचार र गरिबीविरुद्धको महाअभियानको नेतृत्व लिने मौका नेपाली युवाहरूले कुनै हालतमा गुमाउन हुँदैन। सानातिना स्वार्थलाई तिलाञ्जली दिएर संसार बदल्ने जिम्मेवारी पूरा गर्न, नेपाल र नेपालीको अवस्था बदल्न हाम्रो पुस्ता दिलोज्यान दिएर लाग्न जरुरी छ।
जेन जी विद्रोह फगत कुनै व्यक्तिको हातबाट सत्ता खोसेर अर्को व्यक्तिलाई सुम्पने आन्दोलन होइन। यो त संसार बदल्ने महाअभियान बन्न सक्छ—यदि जनता र अब उदाउने नेता इमानदार, मेहनती र देश तथा भावी पुस्ताप्रति वफादार बन्न सके भने।
गोर्खाली वीरताको गाथा कोरेका पुस्ताका सन्तान हामी नेपाली यो महान् गौरवको इतिहास कोर्नबाट चुक्नु हुँदैन। देशका सबै पक्ष यसप्रति सचेत रहनुपर्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क