जकार्ताको सात तले भवनमा भीषण आगलागी, २२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सात तले कार्यालय भवनमा भीषण आगलागी हुँदा कम्तीमा २२ जनाको ज्यान गएको छ। मंगलबार दिउँसो आगो लागेको समयमा केही कर्मचारीहरू खाना खाइरहेका थिए, सोहीबीच पहिलो तलामा भएको ब्याट्री विस्फोटपछि आगो झन् फैलिएको जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंड्रोले जनाएका छन्।

उक्त भवनमा औद्योगिक ग्राहकका लागि ड्रोन बनाउने तथा हवाई सर्वेक्षण, म्यापिङ, निरीक्षण र कृषि सेवामा संलग्न कम्पनीको कार्यालय रहेको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो महिला कर्मचारी थिए, जसमा एक गर्भवती समेत थिइन्। प्रारम्भिक अनुमान अनुसार उनीहरूको मृत्यु जलेर नभई धुवाँका कारण दम घुटेर भएको बताइएको छ।

आगलागीपछि भवनको माथिल्लो तल्लाबाट बाक्लो धुवाँ निस्किरहेको दृश्य देखिएको थियो। उद्धारका लागि २८ दमकल इन्जिन तथा करिब १०० दमकलकर्मी परिचालन गरिएको थियो। दमकल टोलीले हवाई सीढीको सहायताले दर्जनौँ कर्मचारीलाई उद्धार गरे पनि ऊपरी तल्लामा, विशेषगरी छैटौं तलामा, खोजी कार्य अझै चुनौतीपूर्ण रहेको जनाइएको छ।

आगो नियन्त्रणमा आएपछि पनि उद्धार र खोजी कार्य जारी छ। प्रहरी मृतकहरूको पहिचान तथा घटनाको विस्तृत कारणमा अनुसन्धानमा जुटेको छ।

— न्युज डेस्क, आमा दर्शन न्यूज

प्रतिक्रिया