काठमाडौं, — भारत र पाकिस्तानबीचको पछिल्लो समय चुलिएको तनाव शान्तिपूर्ण तरिकाले समाधान गर्न आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी राजदूतावासअगाडि छुट्टाछुट्टै प्रदर्शन गरेको छ।
समाजले लैनचौरस्थित भारतीय राजदूतावास र चुनदेवीस्थित पाकिस्तानी राजदूतावासअगाडि प्रदर्शन गर्दै दुई देशबीचको बिग्रिँदो सम्बन्धले न केवल दक्षिण एशिया, तर सम्पूर्ण विश्व शान्तिमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको हो।
प्रदर्शनका क्रममा ‘आतङ्कवाद सधैँ निन्दनीय छ’, ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’, ‘शान्तिको कुनै विकल्प छैन: युद्धको कुनै भविष्य छैन’, ‘दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔँ’, ‘युद्धमा कसैले जित्दैन, हार्ने केवल मानवता हुन्छ’, ‘युद्धमा सबैको नोक्सान हुन्छ, शान्तिमा सबैको जित हुन्छ’ भन्ने प्लेकार्डहरू प्रदर्शनमा देखिएको थियो।
शान्तिपूर्ण आन्दोलनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, वर्तमान सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाईँ, सल्लाहकार रामप्रसाद जोशी, कोषाध्यक्ष चन्द्रमणि बन्जारा, बागमती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल, उमा गौतम, रोजिना विष्ट, मणिराम दाहाल, काठमाडौँ शाखा सभापति बिकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, चितवन शाखा सभापति पूर्णचन्द्र चापागाईँ, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, आजीवन सदस्य ईश्वर पुडासैनी, रविना पौडेल, तुलसीराम भण्डारीलगायतको सहभागिता रहेको थियो।
मानवअधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानलाई संयमता अपनाउँदै वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गर्दै द्वन्द्वको मार्गमा नजान चेतावनी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार