आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धा–भक्तिपूर्वक मनाइँदै





१९ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।


द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार प्रत्येक वर्ष यस दिन जन्माष्टमी पर्व मनाउने गरिन्छ। श्रीकृष्णको जन्म भएको रातलाई धार्मिक रूपमा ‘मोहरात्रि’ समेत भनिन्छ।


जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिर तथा धार्मिकस्थलहरूमा विशेष पूजाआराधना, भजन–कीर्तन, प्रवचन तथा धार्मिक कार्यक्रम आयोजना भइरहेका छन्। भक्तजनहरू व्रत बसेर दिनभर पूजा–आराधना गर्नुका साथै मध्यरातसम्म जाग्राम बस्ने परम्परा छ।


धार्मिक मान्यताअनुसार भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार र अधर्मको अन्त्य तथा सत्य र धर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेका थिए। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णका शिक्षाले सत्य, कर्तव्य, कर्म र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ।


जन्माष्टमीका अवसरमा विशेषगरी कृष्ण मन्दिरहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने तथा विभिन्न स्थानमा सांस्कृतिक एवं धार्मिक कार्यक्रमसमेत आयोजना हुने गरेका छन्।


भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने यस पर्वले सत्य, धर्म, सदाचार र मानव कल्याणको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया