नेपालमा आगामी मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना

नेपालमा आगामी मनसुनमा औसतभन्दा बढी वर्षाको सम्भावना

काठमाडौं, जेठ १६ ।मौसम पूर्वानुमान महाशाखाले आगामी मनसुनमा नेपालका अधिकांश भू–भागमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको चार महिनाको मनसुन अवधि (जेठ १८ देखि असोज १४ सम्म) को वर्षा पूर्वानुमान अनुसार, देशका धेरै स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो ।

महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कुमारी जोशीका अनुसार, “यस वर्ष कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।”

त्यस्तै, सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको उनले बताए ।

मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भू–भागमा भने औसत वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत मात्र रहेको बताइएको छ । बाँकी भू–भागमा पनि औसतभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यद्यपि, देशका अन्य भू–आगहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही दिन लाग्ने बताइएको छ । हालसम्म देशका बाँकी भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको जोशीले जानकारी दिइन् ।

महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया