रवि लामिछाने बैंक जमानत बुझाएर रिहा


बुटवल । जिल्ला अदालत रुपन्देही, भैरहवामा उपस्थित भई रवि लामिछाने बैंक जमानत बुझाएर रिहा भएका छन्। अदालतको आदेशअनुसार उपस्थित भएका लामिछानेले तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि रिहा गरिएको हो।

रवि लामिछाने आज (पुस ४) बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने तयारीमा थिए। तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान रद्द भएपछि उनी भरतपुरसम्म विमानमार्फत पुगेका थिए। त्यसपछि त्यहाँबाट गाडीमा रुपन्देही आइपुगेका हुन्। उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा ल्याइएको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार (पुस ३) उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्यतेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। सो आदेशपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न उनी जिल्ला अदालत रुपन्देही पुगेका हुन्।

अदालतमा कानुनी प्रक्रिया जारी रहँदा लामिछानेका समर्थकहरूले अदालत परिसर बाहिर रिहाइको समर्थनमा प्रदर्शनसमेत गरेका थिए।



प्रतिक्रिया