छठ पर्वको रौनकमा उज्यालियो बुटवलको तिनाउ किनार

बुटवल । बुटवलको तिनाउ नदी किनार आज साँझ छठ पर्वको रौनकले उज्यालिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रतालु र भक्तजनहरूको भीडले तिनाउ किनार खचाखच भरिएको छ।

चार दिन लामो छठ पर्वअन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन गरिनेछ। तिनाउ नदी किनारलाई आकर्षक ढंगले सजाइएको छ र चारैतिर दीपसज्जा गरिएको छ।

यस वर्ष छठ पर्वमा सहभागी व्रतालु र भक्तजनको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। गत वर्ष करिब पाँच हजार व्रतालुहरूले छठ मनाएका थिए भने यस वर्ष सात हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। तिनाउको मुख्य छठघाटमा व्रतालुहरू पूजा सामग्रीसहित नदी किनारमै बसेर सूर्यदेव र षष्ठीदेवीको आराधना गर्दैछन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व शनिबार ‘नहाय–खाय’ विधिबाट प्रारम्भ भई आइतबार ‘खरना’ सम्पन्न गरिएको थियो। सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिनेछ।

सूर्यदेव र षष्ठीदेवी (छठी माताको) आराधनामा केन्द्रित यो पर्व बुटवललगायत रूपन्देहीका विभिन्न क्षेत्रमा वर्षेनी भव्य रूपमा मनाइँदै आएको छ। तिनाउ नदी किनारमा आज भजन–कीर्तन, दीपसज्जा र भक्तिभावपूर्ण वातावरणले सम्पूर्ण क्षेत्र आलोकित बनेको छ।


रिपोर्टर: आमा दर्शन न्यूज

प्रतिक्रिया