नेपालले रोमाञ्चक खेलमा कतारलाई ५ रनले हरायो, सन्दीप लामिछाने ‘म्यान अफ द म्याच’

ओमान, अल अमेरत – आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ। सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएर नेपाललाई जित दिलाए।


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको मध्यम स्कोर बनायो। कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले २१ बलमा २६ रन जोड्दा गुल्सन झाले ८ बलमा १६ रनको योगदान दिए।


जवाफमा १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। कतारका ओपनर इमाल लियाङ्गीले ३५ बलमा ५६ रन र जुबेर अलिले ५२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।


नेपालको बलिङतर्फ सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन खर्चिँदै पाँच विकेट लिए। नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे।


अन्तिम ओभरमा ९ रनको रक्षा गर्ने जिम्मेवारी पाएका सन्दीपले लगातार दुई विकेट निकाल्दै नेपाललाई रोमाञ्चक जित दिलाए।


कतारका लागि डेनियल आर्चरमिर्जा मोहम्मद बैगले समान ३–३ विकेट लिए।

प्रतिक्रिया