नेपाल प्रहरीको नयाँ डिजिटल सेवा : अब घरमै बसेर मोबाइल एपबाट उजुरी दर्ता गर्न सकिने

काठमाडौँ । अब कुनै पनि घटना वा अपराधसम्बन्धी उजुरी दिन प्रहरी कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारिक मोबाइल एपमार्फत घरमै बसेर अनलाइन उजुरी दर्ता गर्न सकिने नयाँ सेवा सुरु गरेको छ ।


मंगलबार केन्द्रीय प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा ‘नागरिक सहायता तथा गुनासो व्यवस्थापन’ सेवा शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले डिजिटल प्रविधिको प्रयोगमार्फत नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार अब नागरिकहरूले घटनाको विवरण उल्लेख गरी मोबाइलबाटै अनलाइन उजुरी दर्ता गर्न सक्नेछन् ।


यो प्रणालीमार्फत उजुरीकर्ताले आफू रहेको स्थान वा घटना सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयलाई प्रत्यक्ष रूपमा उजुरी पठाउन सक्ने व्यवस्था गरिएको छ ।


नेपाल प्रहरीका प्रवक्ता अबि नारायण काफ्ले का अनुसार, “नागरिकले प्रहरी कार्यालय पुगेर उजुरी दिनुपर्ने झन्झट अब कम हुनेछ । यस सेवाले प्रहरीको कामलाई अझ पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”


कसरी दिने उजुरी ?


यो सेवा प्रयोग गर्न सर्वप्रथम प्रयोगकर्ताले नेपाल प्रहरीको आधिकारिक एप डाउनलोड गरी साइन-अप गर्नुपर्ने हुन्छ ।


एपभित्र रहेको ‘Register Complaint’ सेवामार्फत विभिन्न शीर्षकअन्तर्गत उजुरी दर्ता गर्न सकिन्छ । साथै, घटनासँग सम्बन्धित प्रमाणका रूपमा फोटो, अडियो तथा भिडियोसमेत अपलोड गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।


नेपाल प्रहरीले यो सेवाले डिजिटल प्रविधिमार्फत नागरिकलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया