माननीय उपप्रधान मन्त्री एवं गृह मन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ ले निर्देश गरेअनुसार विपद्बाट हुने जनधनको क्षति घटाउनेगरी कार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री लामिछानेले नागरिकले आपत् विपद्मा नै राज्यको सहयोगको अपेक्षा गर्ने भएकोले सोहीअनुसार नीतिगत एवं व्यवस्थापकीय तयारी गरिने पनि बताउनुभयो ।
प्राधिकरणको नेतृत्वमा तयार भएको कार्ययोजनामाथि माननीय मन्त्रीको मार्गनिर्देशन एवं सरोकारवाला तथ सुरक्षा निकायहरु, विज्ञहरु, मानवीय संघ संस्थाका प्रतिनिधिहरु, अभियानकर्मीहरुको सुझाव एवं टिप्पणी समावेश गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।
कार्ययोजनामा यस वर्ष हुनसक्ने मनसुन तथा जोखिमको आँकलन, तत्कालै गर्नुपर्ने कार्यहरु, विषयगत क्षेत्रका जिम्मेवारी, विद्यमान साधन स्रोत र संरचनात्मक व्यवस्था लगायतका विषय समावेश छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २०८१ बैशाख ३ गते बसेको २१ औं बैठकले कार्ययोजना तर्जुमा गर्न प्राधिकरणका सहसचिव भरत मणी पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।