काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ (प्राथमिक शेयर) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीका लागि छुट्याइएको हिस्सा निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्न पाएको थियो। जसअन्तर्गत १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइसकिएको छ।
अब बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन हुँदैछ। यसलाई भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म अवधि लम्बिनेछ।
न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सागर डिष्टिलरीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूर्ति गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़