आजदेखि नेपालीहरुको महान पर्व बडादशैं प्रारम्भ, घटस्थापनाको उत्तम साइत बिहान ९:१३ मा


काठमाडौं । विभिन्न पेसा, व्यवसाय र अध्ययनका कारण घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा भेला भई मनाइने नेपालीहरुको महान पर्व बडादशैं आजदेखि प्रारम्भ भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैं घर–घरमा विधिपूर्वक घटस्थापना गरेसँगै आरम्भ हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धूमधामका साथ मनाइन्छ ।


बडादशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी

अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजाआरम्भ गरिएको छ ।

नित्यकर्म सम्पन्न गरी बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा राखेर त्यसमाथि यव (जौँ) रोप्ने प्रचलन रहिआएको छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको दिन देवी दुर्गाको प्रसादसँगै यही जमरा ग्रहण गरिन्छ, जसलाई समृद्धिको प्रतीक मानिन्छ ।


परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्न समेत जमराका लागि रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्ने परम्परा पनि छ ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्षको घटस्थापनाको उत्तम साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको छ । आज स्थापना गरिएको कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

प्रतिक्रिया