उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा स्कुल बेसीमा स्थान्तरण

जोमसोम ः समून्द्री  सतहको करिव ४ हजार मिटर माथिको उचाइमा अवस्थित उपल्लो मुस्ताङमा कार्तिक महिना लागेसंगै चिसो ह्वात्तै बढेको छ । हिउँदयाममा चिसो र हिमपात हुँने भएकाले उपल्लो मुस्ताङको जनजिवन निकै कष्ठकर हुँने गर्छ । यसैका कारण उपल्लो मुस्ताङका अधिकाँश नागरिक चिसो छल्न घरमा ताल्चा मारेर बेसीमा झर्ने  सदिंयौंको पूख्र्यौली परम्परा हो ।

उपल्लो मुस्ताङमा चिसो बढेपछि बालवालिकाहरुलाई सुरक्षित स्थानमा राखेर पठन÷पाठन गर्न आवश्यक देखिन्छ ।चिसोका कारण बालवालिकाहरुलाई रुखाघोकी लाग्ने र निमोनिया हुने संम्भावना उक्तिकै हुन्छ । उसो त स्कुल बालवालिकाका हिमपात हुँदा विद्यालयसम्म पुग्न समेत निकै कठिन पर्छ । हिउँदयामको जाडो मौसममा हुँने यिनै चुनौतीहरुलाई मध्यनजर गर्दै

उपल्लो मुस्ताङमा सञ्चालित शैक्षिक संस्थाहरु घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका हुन् ।


हिउँदयामको चिसो बढेसंगै यसवर्ष पनि उपल्लो मुस्ताङका सामुदायिक तथा गुम्बा स्कुलहरुलाई बेसीमा स्थान्तरण गरिएको छ  ।उपल्लो मुस्ताङको  लोमान्थाङ गाउँपालिकाका ३ वटा सामुदायिक स्कुल र ४ वटा बुद्धिस गुम्बा स्कुललाई पोखराका विभिन्न स्थानमा स्थान्तरण गरिएको लोमान्थाङ गाउँपालिकाका शिक्षा शाखा हेर्दैआईरहेको प्रशासन शाखाका अधिकृत विकास केशीले जानकारी दिए । उनीहरुलाई दशै—तिहारको बीचमा बेसी झारिएको उनले बताए । लोमान्थाङ गाउँपालिका अन्तर्गतको दिव्यदीप माध्यमिक विद्यालय ,झिन्झु आधारभुत विद्यालय र राष्ट्रिय आधारभुत विद्यालयका बालवालिकालाई पोखरामा स्थान्तरण गरिएको प्रशासन प्रमुख केशीको भनाई छ । यस्तै, लोमान्थाङ पालिकामा रहेका मञ्जुश्री गुम्बा, निफुक नाम्डोल गुम्बा, पाल नाम्ग्याल गुम्बा र महाकरुणा शाक्यापा गुम्बा गरी ४ वटा गुम्बा स्कुल पनि घुम्ती कक्षाका लागि तिहार अघिनै बेसी झरेका हुन् ।


यसैगरी उपल्लो मुस्ताङकै अर्को लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका ८ सामुदायिक स्कुलमध्ये ७ वटा स्कुललाई पोखरामा स्थान्तरण गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अत्यधिक चिसो बढेपछि

लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका चराङ आबि चराङ, मराङ आबि मराङ, ढाक्मर आबि ढाक्मर, शालिग्राम आबि ताङ्ग्या, यारा आबि यारा , घारा आबि घारा र  जनज्योति आधारभुत विद्यालय घिलिङ गरी ७ वटा सामुदायिक विद्यालय घुम्ती कक्षा सञ्चालन गर्न बालवालिकाहरुलाई पोखरामा  झारिएको गाउँपालिकाका अध्यक्ष बिष्टले उल्लेख गरे ।

मुस्ताङका घुम्ती कक्षा सञ्चालन गर्ने स्कुललाई स्थानीय तहले समेत आवश्यक रकम छुट्याउने गरेको छ । नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका गुम्बा स्कुललाई सरकारले अनुदान वापत बर्सेनि बजेट बिनियोजन गर्ने गरेको छ । हिमाली छात्रवास सुविधा प्राप्त गरेका विद्यालयलाई आवासीय सुविधाका लागि बजेट प्राप्त हुँने गर्छ । कक्षा १ देखि ३ सम्मका बालवालिकालाई आवासीय सुविधाका लागि स्थानीय तहलेनै बजेट छुट्याउने गरेको छ । यसै सुविधाका आधारमा घुम्ती कक्षाका लागि बेसी झरेका विद्यालयले बालवालिकाको शैक्षिक पठन÷पाठन र आवासीय सुविधा प्रदान गर्ने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।


बुद्धिस गुम्बा स्कुललाई पाठ्यपुस्तक खरिद तथा शिक्षक व्यवस्थापन गराउन सरकारले रकम उपलब्ध गर्ने गरेको छ । मुस्ताङमा कुल ८ गुम्बा स्कुलले सरकारी मान्यता प्राप्त गरेका छन् । यी स्कुलले सरकारले निर्धारण गरेको ५ वटा पाठ्यक्रम समावेश गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

मुस्ताङमा ३ दर्जन बढी सामुदायिक स्कुल छन् । जसमा हिउँदयामको जाडो छल्न उपल्लो मुस्ताङका शैक्षिक संस्था बेसी झरे पनि तल्लो क्षेत्रका विद्यालयहरु पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छन् । थासाङ र घरपझोङ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई हिउँदे बिदा दिने गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतको जननर्मल माध्यमिक विद्यालय छुसाङ र मुक्तिनाथ आधारभुत विद्यालय झारकोट बेसी स्थान्तरण गरिएपनि अन्य विद्यालयहरुलाई पुस र माघ  हिउँदे २ महिना जाडो बिदा दिने गरिएको छ ।

सरकारले देशैभरी नयाँ शैक्षिक सत्र कायम गर्न परिपत्र गरेसंगै मुस्ताङमा वार्षिक परीक्षा रोकिने निश्चित भएको छ । विगत वर्षहरुमा शैक्षिक सत्र सकेर  फागुनमा नयाँ शैक्षिक सत्रको पठन÷पाठन सुरु गरिन्थ्यो । अब हिमाली जिल्लाहरुमा पनि बेसीमा जस्तै चैत्र महिनामा शैक्षिक सत्र सकेर बैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुँने शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले बताएको छ । यसले बेसी स्थान्तरण गरिएका बालवालिकाबाहेक तल्लो क्षेत्रका विद्यालयमा पठन÷पाठन गर्ने बालवालिकाका बार्षिक परीक्षा दिन अप्ठ्यारो हुने सरोकारवालाहरुको भनाई छ ।

चिसोका कारण बेसी झरेका उपल्लो मुस्ताङका  शैक्षिक संस्थाहरु चिसो घटेपछि बैशाखमा साविककै स्थानमा पठन÷पाठन गरिने गरिन्छ । घुम्ती कक्षाका लागि उपल्लो मुस्ताङका कतिपय विद्यालयले पोखरामा आफ्नै शैक्षिक भवन समेत बनाईसकेका छन् ।

यो समाचार कपि राईट गर्न सख्त मनाही छ ।



प्रतिक्रिया