यस वर्षको मनसुन अपेक्षित समयभन्दा अघि नेपाल प्रवेश गरेपछि देशभर धान रोपाइँको कार्य गत वर्षको तुलनामा तीव्र गतिमा सम्पन्न भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले जनाएको छ। विभागका अनुसार सोमबारसम्म देशभर कुल ४५.०३ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.५३ प्रतिशतले बढी हो।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार अधिकांश किसान धान रोपाइँका लागि मनसुनी वर्षामा निर्भर रहने भएकाले यस वर्ष मनसुन १५ दिन अघिदेखि सक्रिय हुँदा रोपाइँमा सकारात्मक असर परेको हो। यद्यपि पूर्वी तराईमा अपेक्षित मात्रामा वर्षा नभएकाले मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ ढिलो भएको देखिएको छ।
प्रदेशगत विवरण अनुसार, कोशी प्रदेशमा २९.५४ प्रतिशत, मधेस प्रदेशमा २५.०८ प्रतिशत, बागमती प्रदेशमा ५१.९ प्रतिशत, गण्डकी प्रदेशमा ५५.६ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत, कर्णाली प्रदेशमा ७१.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
यस वर्षको मनसुन जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म देशभर ३५२ मिमि अर्थात् २३.८ प्रतिशत मात्र वर्षा भएको छ। तथापि जुन महिनामा सरदरको ९९ प्रतिशत वर्षा भएकोले समग्रमा वर्षाको अवस्था सामान्य नै रहेको विभागले जनाएको छ।
अघिल्लो वर्षको तुलनामा वर्ष २०८१ मा धान उत्पादनमा ४.०४ प्रतिशत वृद्धि भई कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ। कोशी र मधेस प्रदेशमा सबैभन्दा बढी धान उत्पादन भएको थियो।
आगामी महिना जुलाईदेखि सेप्टेम्बरसम्मका लागि गरिएको मौसम पूर्वानुमान अनुसार, देशका अधिकांश भागहरूमा औसतदेखि बढी वर्षा हुने सम्भावना रहेको छ भने मधेस प्रदेशको दक्षिणी र पूर्वी भू–भागमा भने औसतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।
(Aama Darshan News)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता