पुरानो संसद फर्काउने चलखेल स्वीकार्य छैन : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले निर्वाचनबाट आउने जुनसुकै परिणाम स्वीकार्न तयार रहेको स्पष्ट पारेका छन्।

स्वास्थ्य समस्याका कारण केही दिन अस्पताल बसाइपछि सार्वजनिक जीवनमा फर्किएको उल्लेख गर्दै लामिछानेले अब देशमा हुने परिवर्तन घटना होइन, इतिहास हुने दाबी गरेका छन्। उनले नेपाली जनताले आफ्नै मतपत्रमार्फत परिवर्तनको इतिहास लेख्ने बताएका छन्।

लामिछानेले आफू सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न चाहेको भन्दै ‘घण्टीमा भोट’को आह्वान गरेका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्ने स्पष्ट जनादेश आवश्यक रहेको उनको भनाइ छ। एकाध पुल, भवन र सडकका तस्वीर बेच्ने ‘कस्मेटिक सुधार’मा आफूलाई कुनै रुचि नभएको पनि उनले उल्लेख गरेका छन्।

देश अस्थिरताको गहिरो जरोमा फसेको उल्लेख गर्दै यसपटक जरो नै नउखेलिएसम्म परिवर्तन सम्भव नहुने लामिछानेको भनाइ छ। उनले व्यक्तिगत भविष्य वा आफ्नो स्थानभन्दा देशको भविष्य महत्वपूर्ण रहेको बताएका छन्।

पुराना दलहरूलाई लक्षित गर्दै उनले भ्रष्टतन्त्रको ठेकेदार बनेर आरोप लगाउने प्रवृत्तिको आलोचना गरेका छन्। लोकतन्त्र जोगाउने दायित्व आफूहरूले लिने र नसके जनता स्वयं सक्षम रहेको उनको भनाइ छ।

देश “अन्तिम सुनामीको तयारीमा” रहेको उल्लेख गर्दै लामिछानेले खुलेआम वा गोप्य जुनसुकै गठबन्धन गर्न पुराना दलहरूलाई चुनौती दिएका छन्। तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले फर्काउने प्रयास स्वीकार नहुने उनले चेतावनी दिएका छन्।

फागुन २१ लाई नेपाली इतिहासको ‘माइलस्टोन’को संज्ञा दिँदै उनले त्यसपछि आउने संसद नयाँ हुनुपर्ने बताएका छन्। “सर्प एउटा पनि पाल्न सकिँदैन,” भन्दै उनले पुरानो राजनीतिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन्।

देश केही बिचौलियाको नियन्त्रणबाट मुक्त गराउने जिम्मा जनताको हातमा रहेको उल्लेख गर्दै लामिछानेले सुशासन, विकास, कूटनीति र अर्थ–राजनीतिको नयाँ युग सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया