विद्यालय शिक्षा विधेयक असार २३ सम्म पर्खन्छौं : शिक्षक महासङ्घकी सहअध्यक्ष पराजुली

काठमाडौं, असार १७।नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकारलाई असार २३ गतेसम्मको समय दिइएको स्पष्ट पार्नुभएको छ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै सहअध्यक्ष पराजुलीले भनिन्, “विद्यालय शिक्षा विधेयकमा शिक्षकमैत्री व्यवस्था समावेश नभएसम्म हाम्रो संगठन चुप लागेर बस्ने छैन। असार २३ सम्म प्रतिक्षा गर्छौं, त्यसपछि आवश्यक संघर्षका कार्यक्रम घोषणा हुनेछ।”

उहाँको अभिव्यक्तिले सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकले शिक्षक समुदायको हित सुरक्षित गर्न नसकेको प्रति गम्भीर असन्तोष रहेको स्पष्ट संकेत दिएको छ।

शिक्षकमहासङ्घले लामो समयदेखि शिक्षकको पेशागत सुरक्षाका साथै स्थायित्व र सम्मानजनक व्यवस्थाका लागि आवाज उठाउँदै आएको छ। तर हाल प्रस्तुत विधेयकमा केही प्रावधान शिक्षकको अधिकार कुण्ठित गर्ने खालको रहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

महासङ्घले आगामी दिनमा सरकारसँग संवादका माध्यमबाट समस्या समाधानको प्रयास जारी राख्ने बताएको छ। तर माग सम्बोधन नभए संघर्षको कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएको छ।

© Aama Darshan News

प्रतिक्रिया