सन्तोष नारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौँ, नेपाल — लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरिएको छ। यससँगै, करिब ११ महिनादेखि जारी नियुक्ति प्रक्रिया टुंगिएको छ।


श्रेष्ठले नियामक निकायको नेतृत्व सम्हाल्दै पुँजी बजारलाई दिगो, पारदर्शी, र निष्पक्ष बनाउने प्राथमिकता रहेको बताएका छन्। आफ्नो कार्यकालमा पुँजी बजारका पूर्वाधार विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, र बजारको स्थिरता कायम गर्न योजनाबद्ध रूपमा अघि बढ्ने उनले बताए।


श्रेष्ठले लगानीकर्ताहरूलाई सचेत बनाउन र गलत अभ्यास रोक्न बोर्डको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार पुँजी बजारमा सूचक घटबढ हुनु सामान्य हो तर बजारलाई ‘रेजिलियन्ट’ बनाउनेतर्फ प्राथमिकता दिनुपर्ने आवश्यकता छ।


नयाँ स्टक एक्सचेन्जलाई प्राथमिकता


नवनियुक्त अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको विषयमा स्पष्ट योजना अघि बढाउने संकेत गरेका छन्। उनका अनुसार समग्र पुँजी बजारको विकासका लागि विशेषीकृत लगानी कोष, कमोडिटी मार्केटजस्ता अन्य पहलहरू पनि आवश्यक छन्।


“बजारको विकास र लगानीकर्ताको हकहित संरक्षणका लागि सरकारको निर्देशनको पूर्ण पालना गर्दै परिणाममुखी काम गर्न प्रतिबद्ध छु,” श्रेष्ठले भने।


सेबोनको साख सुधारमा जोड


धितोपत्र बोर्डको साख कमजोर भएको चर्चा भइरहेका बेला, श्रेष्ठले संस्थागत र व्यवसायिक सुधारका लागि कार्ययोजना तयार गरिरहेको जानकारी दिए। उनले बोर्डको विश्वसनीयता कायम गर्न निष्पक्षता र पारदर्शितालाई आधार मानेर अघि बढ्ने बताए।


नवनियुक्त अध्यक्षले आफूलाई पुँजी बजारको दिगो विकासमा समर्पित गर्दै, सबै सरोकारवालासँग सहकार्य गरी देशको अर्थतन्त्रमा पुँजी बजारको योगदान अभिवृद्धि गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया