गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती प्रेषण

गोरखा, असोज १२ ।बडादसैँअन्तर्गत फूलपातीका दिन गोरखा दरबारको दसैँघरबाट आज बिहान काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली प्रेषण गरिएको छ।

शुभसाइत बिहान ७ः३० बजे गोरखा दरबारका सुसारेहरूले पूजाअर्चना गरी फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत फूलपाती पठाइएको हो।

गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको ¥याली निकालेर फूलपातीको विदाई गरिएको थियो। त्यस क्रममा गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले “गोरखाबाट पठाइएको फूलपाती आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याइने परम्परा रहेको” बताउनुभयो।

ऐतिहासिक परम्पराअनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष फूलपातीका दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँ पठाउने प्रचलन सुरु भएको हो।

गोरखा दरबारमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरलगायत स्थानीय अधिकारीहरूले फूलपातीको विदाई गर्नुभयो। गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्षबढाइका साथ फूलपाती भित्र्याइने परम्परा छ।

प्रतिक्रिया