प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयसीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूप्रति आभार व्यक्त गरेकी छन्।
मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको प्रक्रिया सफलतापूर्वक पूरा हुनु अर्को महत्त्वपूर्ण कोशेढुङ्गा भएको उल्लेख गरिन्।
उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमानदारी र क्षमताका साथ प्रतिबद्ध रहेको पुनः स्मरण गराउँदै सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने स्पष्ट पारिन्। उनका अनुसार सबै सुरक्षा संयन्त्रहरू उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन्।
प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाका १६५ सिटका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वासको सशक्त प्रमाण भएको बताइन्। यसले नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको कुरा राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको उनको भनाइ छ।
निर्वाचन प्रक्रियामा देखिएको व्यापक सहभागिता र प्रतिबद्धताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा प्रवाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा विद्यमान अन्योल र अनिश्चितताको अवस्था अन्त्य भएको बताइन्। सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको उनको भनाइ छ।
निर्वाचन कार्यतालिकाअनुसार अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेकोमा निर्वाचन आयोगलाई नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज तथा सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा पनि गरिन्।
साथै, दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई संयमित र सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन प्रधानमन्त्री कार्कीले हार्दिक अपिल गरेकी छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार