भारतको बारामति विमानस्थलमा जहाज दुर्घटना, उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु


काठमाडौं । भारतको महाराष्ट्र राज्यको पुणेस्थित बारामति विमानस्थलमा बुधबार बिहान भएको जहाज दुर्घटनामा नेश्नलिस्ट कंग्रेस पार्टी (एनसीपी) का अध्यक्ष तथा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा पवारसहित उनका दुई सुरक्षाकर्मी र चालक दलका दुई सदस्यको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नागरिक उड्डयन महानिर्देशक कार्यालय (डीजीसीए) का अनुसार बारामति विमानस्थलको हवाईमार्ग अस्थिर रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। दुर्घटनाग्रस्त विमानले बिहान ८ बजेर १८ मिनेटमा रनवे–११ मा अवतरणको पहिलो प्रयास गरेको थियो।

अवतरणअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटिसी) सँग सम्पर्क गर्दै भिजिबिलिटी र हावाको अवस्थाबारे जानकारी लिएका थिए। एटिसीले हावा शान्त रहेको र भिजिबिलिटी ३ हजार मिटर रहेको जानकारी दिएपछि पाइलटले अवतरण प्रयास गरेका थिए। तर रनवे स्पष्ट नदेखिएपछि विमानले ‘गो–अराउन्ड’ गरेको बताइएको छ।

‘गो–अराउन्ड’ भनेको अवतरणको प्रयास रोक्दै विमानलाई पुनः सुरक्षित उचाइमा उडाएर अर्को पटक अवतरण प्रयास गर्ने प्रक्रिया हो।

बीबीसीले डीजीसीएको प्रारम्भिक रिपोर्ट उद्धृत गर्दै लेखेअनुसार बिहान ८ बजेर २३ मिनेटमा दोस्रो पटक अवतरण प्रयासका क्रममा विमान धावनमार्ग बाहिर दुर्घटनाग्रस्त भएको हो। दोस्रो प्रयासका बेला पनि पाइलटले हावा र भिजिबिलिटीबारे सोधेका थिए। एटिसीले अवस्था क्लियर रहेको जानकारी दिए पनि त्यसपछि जहाजबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ।

विमान रनवे–११ को थ्रेसहोल्ड नजिकै बायाँतर्फ खसेको भारतको उड्डयन मन्त्रालयले जनाएको छ। दुर्घटनालगत्तै आपतकालीन सेवाहरू परिचालन गरिएको थियो।

दुर्घटनाको छानबिन विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले सम्हालेको छ। एएआईबीका महानिर्देशकसहितको टोली घटनास्थलतर्फ पुगेको बताइएको छ।

मन्त्रालयका अनुसार दुर्घटनाग्रस्त विमान भिटी–एसएसके दर्ता नम्बरको लियरजेट ४५ श्रेणीको चार्टर विमान हो। यो विमान मुम्बईबाट बारामतितर्फ उडानमा थियो।

क्यानाडाली कम्पनी बम्बार्डियर एरोस्पेसले निर्माण गरेको उक्त मध्यम आकारको बिजनेस जेटमा अधिकतम आठ यात्रु सवार हुन सक्ने क्षमता रहेको छ। विमानमा दुईवटा हनीवेल टीएफई–७३१ टर्बोफ्यान इन्जिन जडान गरिएको छ, जसले साना रनवे भएका विमानस्थलमा समेत अवतरण गर्न सक्षम बनाउँछ।

विमान दिल्लीस्थित विएसआर भेन्चर्स एभिएसन कम्पनीको स्वामित्वमा रहेको र यसको निर्माण सन् २०१० मा भएको हो। डीजीसीएले फेब्रुअरी २०२५ मा गरेको अन्तिम नियामक अडिटमा कुनै कमजोरी नदेखिएको जनाइएको छ।

विमानमा दुई सदस्यीय चालक दल सवार थिए। एक पाइलटसँग एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स थियो र उनको उडान अनुभव करिब १५ हजार घण्टा रहेको बताइएको छ। अर्का पाइलटसँग कमर्सियल पाइलट लाइसेन्स रहेको र उनको पनि करिब १५ हजार घण्टा उडान अनुभव रहेको मन्त्रालयले जनाएको छ।

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री, महाराष्ट्रका मुख्यमन्त्री तथा उपमुख्यमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। महाराष्ट्र सरकारले तीन दिनको राजकीय शोक घोषणा गरेको छ।

छानबिनबाट थप तथ्य सार्वजनिक भएपछि विस्तृत विवरण उपलब्ध गराइने उड्डयन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया