नारायण गोपाल संगीत कोष भवन लैङ्गिकमैत्री र पहुँचयुक्त बनाउन निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नारायण गोपाल संगीत कोष भवनलाई लैङ्गिकमैत्री र पहुँचयुक्त बनाउन निर्देशन दिनुभएको छ।


सोमबार भवन निरीक्षणका क्रममा डंगोलले सार्वजनिक संरचनाहरू सबैका लागि पहुँचयोग्य र समावेशी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “सार्वजनिक संरचना सबैका लागि हुन्। अपाङ्गता भएका व्यक्ति जान नसक्ने भयो भने त्यो अधुरो हुन्छ।”


उपप्रमुख डंगोलले भवनभित्रका शौचालयहरू विशेष गरी महिला, बालबालिका, र अपाङ्गता भएका व्यक्तिहरूका लागि मैत्रीपूर्ण र सहज बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यसलाई समावेशीता र पहुँचको दृष्टिले सुधार गर्न तत्काल पहल थाल्न कोषका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो।


भवनभित्र पर्याप्त र सुविधायुक्त शौचालयको अभाव, अपाङ्गता भएका व्यक्तिका लागि र्‍याम्पको कमी, र अन्य संरचनात्मक असुविधाहरूप्रति गुनासो आउने गरेकाले यो विषयलाई प्राथमिकतामा राखेर काम गर्न डंगोलले जोड दिनुभएको छ।


सार्वजनिक भवनहरू सबै वर्ग, क्षेत्र र अवस्थाका नागरिकलाई सेवा दिन सक्षम हुनु नै सहरी पूर्वाधारको मुख्य उद्देश्य हो, डंगोलले बताउनुभयो।


नारायण गोपाल संगीत कोष भवनको व्यवस्थापनले उपप्रमुखको निर्देशनलाई स्वागत गर्दै आवश्यक सुधारका लागि प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया