माधवनारायण व्रतालुको दोस्रो परदेश यात्रा: साँखुबाट पनौती प्रस्थान

काठमाडौं — साँखुस्थित शालीनदीमा माधवनारायण व्रत गरिरहेका व्रतालुले शनिबार दोस्रो परदेश यात्रा गर्दै छन्। माघ शुक्ल तृतीयादेखि सुरु हुने यो व्रत अन्तर्गत व्रतालु प्रत्येक वर्ष साँखुबाट पनौती पुगी त्रिवेणीघाटमा स्नान, पूजा आराधना र सांस्कृतिक परिक्रमा गर्ने परम्परा निर्वाह गर्छन्।


श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहका अनुसार शनिबार नित्यकर्मपछि व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जानेछन्। साँझ पनौती पुग्ने व्रतालुले आइतबार बिहान त्रिवेणीघाटमा स्नान गरी माधवनारायणको विशेष पूजा आराधना गर्ने कार्यक्रम छ।


स्नान र पूजापछि व्रतालुले सांस्कृतिक शहर पनौती परिक्रमा गर्नेछन्। त्यसपछि भोखुसीको भोजनपछि साँखु फर्किनेछन्। यसअघि व्रतालुले माघ कृष्ण चतुर्दशी र औंसीका अवसरमा बज्रयोगिनी, पशुपतिनाथ र शेषनारायण मन्दिरको यात्रा गरिसकेका छन्।

प्रतिक्रिया