नीति तथा कार्यक्रममाथि संसद्मा छलफल सुरु, जनमत र नागरिक उन्मुक्तिको अवरोध फिर्ता


काठमाडौं, वैशाख २४ – Aama Darshan News

संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु भएको छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सदन अवरोध फिर्ता लिएपछि छलफलको मार्ग खुलेको हो।


सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक तथा शून्य समय सकिएपछि सभामुख देवराज घिमिरेले छलफल अघि बढाउन लाग्दा जनमत र नाउपाका सांसदहरूले उठेर अवरोध जनाएका थिए। उनीहरूले पूर्वसांसद रेशम चौधरी पक्राउ प्रकरणबारे सरकारबाट जवाफ माग गर्दै संसद् अवरुद्ध गरेका थिए।


सभामुख घिमिरेले वैशाख २५ गते बस्ने प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालयका तर्फबाट औपचारिक जवाफ आउने जानकारी गराएपछि दुवै दलका सांसदहरू आफ्नो स्थानमा बसेका थिए। त्यसपछि संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिएको हो।


सरकारको नीति तथा कार्यक्रममाथि अब केही दिन विस्तृत छलफल हुने कार्यक्रम रहेको छ। प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रममा व्यवहारिकता, समावेशिता र कार्यान्वयन पक्षमा गम्भीर प्रश्न उठाउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया