किसानलाई दुई हजार बढी लिचिका विरुवा वितरण

 कञ्चनपुर कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय विरुवा वितरणको गरेको छ । मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर विरुवा वितरण गरेको हो ।

नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रम अन्तर्गत लिचीका बिरुवा वितरण गरेको जनाएको छ । बजारमा लिचीका प्रतिबिरुवाको मूल्य दुई सय बढी रहेकामा ७५ मा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएकोे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

‘बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर–१ दोमिल्ला, कुमगडा, वडा नम्बर २ को खल्लागोठ, वडा नम्बर ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ, उनले भने । ‘त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ ।

 

लिचीका फूलबाट मौरीले राम्रो मह संकलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताए । मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उनको भनाइ छ । एक लाख बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो । ‘खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ, शाखा प्रमुख धामीले भने ।

 

उनका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया