त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको उपचार सेवा आजदेखि बन्द गर्‍यो

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रदान गरिँदै आएको उपचार सेवा बन्द गरेको छ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नआएपछि बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको जानकारी दिए। उनका अनुसार बीमा कार्यक्रमअन्तर्गत उपचार गराएका बीमितको सेवा वापत अस्पतालले करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।

सूचना अधिकारी रोस्याराका अनुसार अस्पतालले स्वास्थ्य बीमा कार्यक्रममार्फत मासिक करिब दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएको थियो। तर बीमितको उपचार गरेवापतको रकम समयमै प्राप्त नहुँदा अस्पतालको नियमित सञ्चालनमै समस्या उत्पन्न भएको उनले बताए।


“आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्नुपर्ने अवस्था सिर्जना हुँदा अस्पतालले मासिक करिब दुई करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ,” उनले भने, “यस्तो अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकाले सेवा बन्द गर्नुपरेको हो।”

स्वास्थ्य बीमा कार्यक्रम बन्द भएपछि बीमित सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित हुने देखिएको छ।


✍️ आमा दर्शन न्युज डेस्क

प्रतिक्रिया