कीर्तिपुर नगरपालिका–५, पाँगाका मेकानिकल ओभरसियर टेक्निसियन कविर महर्जन भाद्र १० गते बुधबार भोटेकोशी–रसुवाको बाढीतर्फ त्रिशूलीको अपर ए–३ हाइड्रोपावर क्षेत्रमा गएको अवस्थामा आएको विपद्पछि अलपत्र अवस्थामा रहेको परिवारले जनाएको छ।
आज ७ दिन बितिसक्दा पनि उहाँको उद्धार हुन नसकेको खबरले एउटा परिवार मात्र होइन, सिंगो कीर्तिपुरलाई स्तब्ध बनाएको छ। उहाँकी जहान हिराशोभा महर्जन र बहिनी श्रद्धालक्ष्मी महर्जन आज कस्तो मनस्थितिमा होलान् ? आँखाअगाडि हराइरहेको प्रिय मान्छेको बाटो हेर्दै बसेको परिवारलाई “उहाँ कहाँ हुनुहुन्छ?” भन्ने प्रश्नले हरेक क्षण पोलिरहेको होला। आमाको आँखाले छोराको बाटो हेरिरहेको होला। जहानले जीवनसाथी फर्किने आशामा ढोका कुरिरहेकी होलिन्। बहिनीले दाइको आवाज सुन्न खोजिरहेकी होलिन्। तर एउटा प्रश्न यहाँ उठ्छ— स्थानीय सरकार कहाँ छ? कीर्तिपुर नगरपालिका आफ्ना नागरिकको सुख–दुःखमा साथ दिने सरकार होइन र? जनताले मतदान गरेर निर्वाचित गरेको स्थानीय सरकारको जिम्मेवारी सडक, ढल, भवन र बजेटको योजना बनाउनु मात्र हो? जब कीर्तिपुरको एउटा नागरिक विपद्को बीचमा हराउँछ, जब एउटा परिवारले सात दिनदेखि उद्धारको प्रतीक्षा गरिरहेको हुन्छ, त्यतिबेला कीर्तिपुर नगरपालिका कहाँ उभिनुपर्छ? हामी आरोप लगाउन चाहँदैनौँ। हामी राजनीति गर्न पनि चाहँदैनौँ। हामी केवल सोध्न चाहन्छौँ— कविर महर्जनको अवस्थाबारे कीर्तिपुर नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरेर खोजी तथा उद्धारका लागि के–के पहल गरिरहेको छ? परिवारसँग नगरपालिकाको प्रत्यक्ष सम्पर्क भएको छ कि छैन? उद्धारका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित हाइड्रोपावरसँग समन्वय गरिएको छ कि छैन? र सबैभन्दा ठूलो प्रश्न—कीर्तिपुरका नागरिक संकटमा पर्दा उनीहरूलाई आफ्नै नगरपालिकाको सरकार छ भन्ने अनुभूति कहिले हुन्छ? आज कविर महर्जनको परिवार रोइरहेको छ। भोलि यस्तो पीडा हामीमध्ये कसैको घरमा पनि आउन सक्छ। त्यसैले यो कुनै एक परिवारको मात्र प्रश्न होइन। यो कीर्तिपुरका प्रत्येक नागरिकको सुरक्षाको प्रश्न हो। नगरपालिका भवनभित्र बसेर जनताको समस्या देखिँदैन भने कम्तीमा जनताको आँसुको आवाज त सुनियोस्। कविर महर्जनको सकुशल उद्धारका लागि सम्बन्धित सबै निकाय तत्काल सक्रिय बनून्। कीर्तिपुर नगरपालिका— कृपया यो आवाज नसुनेझैँ नगर्नुस्। एउटा परिवार सात दिनदेखि तपाईंको जवाफ कुरिरहेको छ। कविर महर्जन सकुशल फर्किऊन्। परिवारको आँखाको आँसु आशामा बदलियोस्।
यही हाम्रो प्रार्थना हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर