काठमाडौंमा मौसम सुधार, जनजीवन सामान्य बन्दै

काठमाडौँ — लगातारको वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको आकाश खुलेको छ र जनजीवन सामान्य बन्दै गएको छ। वर्षाका कारण विगत केही दिनदेखि अस्तव्यस्त बनेको उपत्यकाको दैनिक जीवन आजदेखि सहज बन्दै गएको हो।

मौसमविद्हरूका अनुसार अब काठमाडौं उपत्यकामा ठूलो वर्षा हुने सम्भावना न्यून रहेको छ। पानी पार्ने मौसमी प्रणाली पूर्वतर्फ, विशेषगरी कोशी प्रदेशतिर सरेपछि उपत्यकासहितका धेरै ठाउँमा मौसममा सुधार आएको हो।

बागमतीसहितका प्रमुख सहायक खोलाहरूमा पानीको सतह घट्न थालेको छ। पहिलेदेखि खोलानजिकका बस्तीहरूमा बसोबास गर्ने बासिन्दा बाढीको जोखिमका कारण अस्थायी रूपमा बिस्थापित भएका थिए। अहिले तीमध्ये धेरैजना आफ्ना घर फर्किन थालेका छन्।

डुबानमा परेका घर, पसल र सडकहरूमा सरसफाइ कार्य सुरु गरिएको छ। स्थानीय वासिन्दा र स्वयंसेवी समूहहरूले प्रभावित क्षेत्रहरूमा सरसफाइमा सहयोग गरिरहेका छन्।

यसैबीच, खराब मौसमका कारण केही दिनदेखि अवरुद्ध आन्तरिक हवाई उडान सेवा पनि आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसम स्थिर हुँदै गएसँगै हवाई र स्थलीय यातायात दुवै सहज बन्दै गएका छन्।

प्रतिक्रिया