काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
भक्तपुरको गुण्डुमा आज आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र यस विषयमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई चुनाव गर्न चाहिने भए पनि त्यसका लागि राजनीतिक दलहरूको विश्वास जित्नुपर्ने बताउनुभयो।
“राष्ट्रलाई अहिले एकता र स्थिरता चाहिएको छ,” उहाँले भन्नुभयो, “लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आएर शान्ति र सुव्यवस्था कायम गर्दै देशलाई समृद्धितर्फ अघि बढाउनुपर्छ। सरकारले त्यसका लागि सकारात्मक र अनुकूल वातावरण तयार गर्नुपर्छ।”
त्यस अवसरमा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला पार्टीभित्र विवाद सिर्जना गर्नु अनुचित हुने बताउँदै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, बागमती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताहरूले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई बलियो र एकताबद्ध शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। त्यसपछि प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता