काठमाडौं – टाटा गाडीको नेपालमा अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आर्थिक वर्ष २०८१/८२ मा २४ अर्ब ८ करोड रुपैयाँको कारोबार गरेको छ।

यो अघिल्लो वर्षको १८ अर्ब ५८ करोड रुपैयाँको कारोबारभन्दा २९.५९ प्रतिशत वृद्धि हो। विशेषगरी कमर्शियल गाडीको बिक्री ६९ प्रतिशतले बढेको छ। रेटिंग कम्पनी इक्राका अनुसार, सिप्रदीको कमर्शियल भेइकल बजारमा ६०–६५ प्रतिशतको मार्केट शेयर रहेको छ।


कम्पनीसँग हाल ४ वटा आफ्नै शो रुम, १४ डिलर र देशभर विभिन्न सेल्स पोइन्टहरू छन्। मार्केट लिडर भए पनि ह्युनडाई, मारुती सुजुकी, किया, र ईभी क्षेत्रमा बीवाईडी तथा एमजीसँगको प्रतिस्पर्धाले कम्पनीको आम्दानीमा प्रभाव पार्न सक्ने इक्राले जनाएको छ।


सिप्रदीले पछिल्ला ३ वर्षमा औसत ६८ प्रतिशत लाभांश वितरण गर्दै आएको थियो। आर्थिक वर्ष २०८१/८२ मा उच्च दरको लाभांश वितरण गर्दा कम्पनीको नेटवर्थ र तरलताको अवस्था परिवर्तन हुने सम्भावना रहेको रेटिंगले उल्लेख गरेको छ। कम्पनीले १३ अर्ब ७५ करोडको अल्पकालीन ऋण लिनको लागि रेटिंग पनि गराएको छ।


कम्पनी सन् १९७९ मा स्थापित भएको हो। सन् १९८२ देखि कमर्शियल गाडी र सन् १९९२ देखि पेजेनजर भेइकल बिक्री गर्दै आएको सिप्रदीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट पनि बिक्री गर्दै आएको छ।


सिद्धार्थ एसजेबी राणा कम्पनीका अध्यक्ष हुन् र उनी तथा उनका सम्बद्ध व्यक्ति/संस्थाहरू मुख्य लगानीकर्ता रहेका छन्।

प्रतिक्रिया