भक्तपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु: शवको सनाखत

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्। मृतकको पहिचान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे निवासी ६५ वर्षीय उत्तम कोइराला भएको पुष्टि भएको छ।

प्रारम्भमा मृतक महिला रहेको जानकारी दिइएको थियो, तर पछि थप अनुसन्धानपछि मृतक पुरुष रहेको स्पष्ट भएको छ। शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू घटनास्थलमा पुगेर शवको सनाखत गरेका छन्।

बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोहीतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटर चालक घटनास्थलमै मृत्यु भएका छन्। ट्रक चालक, सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

घटनापछि गठ्ठाघर क्षेत्रमा तनाव उत्पन्न भएको थियो। भिड नियन्त्रण गर्न ११८ जना प्रहरी परिचालन गरिएको थियो, तर भिड बढ्दै गएपछि थप ११३ जना प्रहरी र १२० जना सशस्त्र प्रहरी खटाइएको थियो। भिड नियन्त्रण गर्न प्रहरीले २२ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। यस घटनामा भक्तपुरका प्रहरी प्रमुख एसपी बेद विष्ट र प्रहरी सहायक हवलदार बहादुरे राउत घाइते भएका छन्।

प्रतिक्रिया