एक युगमा एकचोटि जन्म लिन्छ भन्ने कथन यदाकदा फरक हुन्छ उदाहरण महेश तुलाधरसँग मेल खान्छ । शिव जस्तो महान ईश्वरको कृपामा जन्मिएको, न्याय सन्तुलन र व्यापारिक साँस्कृतिक परम्परा बोकेको व्यक्ति नाम विशेषता रहेको भए तापनि आफु खेल्दै हुर्किएको माटोको आकारलाई नै पेशा मान्नुहुने व्यक्तिको रुपमा चिन्न सकिन्छ । सार्वजनिक स्थलमा राखिने मूर्ति वा प्रतिमा जसले कुनै व्यक्ति, घटना वा विचारलाई स्मरण दिलाउने कर्मठ हातले सुसज्जित विचारको रुपमा समाजले अनुशरण गर्न सकिन्छ । ऐतिहासिक व्यक्तित्व र घटनाको सम्मान र सम्झना गराउने उहाँको पेशा रहेको छ । राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवलाई परिचय एवम् भावी पुस्तालाई प्रेरणा दिने किताब जस्तो सालिक उहाँ कोर्न दक्ष हुनुहुन्छ । सार्वजनिक स्थानलाई सौन्दर्यपूर्ण र अर्थपूर्ण बनाउने काम उहाँबाट हुँदै आएको छ । वीरगति प्राप्त सैनिकहरूको सालिकले वीरता र त्यागको स्मरण गराउने श्रद्धाञ्जली स्वरुप उहाँ कृति मान्न सकिन्छ । सालिकलाई शिक्षा र प्रेरणाको स्रोत हुन् । व्यक्ति कस्तो थियो बुझ्ने उद्देश्य सालिक हुनेछ । राष्ट्रिय नायक, साहित्यकार, कलाकार, नेता, समाजसेवी, वीर सैनिक अन्य अन्य सोच स्वरुपका व्यक्तिहरूका सालिक बन्छन् भने घटनामा युद्ध, आन्दोलन, विद्रोह, महत्त्वपूर्ण सम्झौता आदिको चर्चा हुनसक्छ । प्रतीकको रुपमा धर्म–संस्कृति, जनजातीय पहिचान, शान्ति, एकता वा स्वतन्त्रता आदि आवश्यक अनुरुप खडा गरिन्छ । सालिकमा थप प्राकृतिक/पौराणिक विषय पनि हुन्छन् जनावर, पौराणिक पात्र, प्रकृति प्रतीक आदि ।
इतिहास र परम्पराको अध्ययनले स्थानको चयनसँगै समुदायको सहभागिता तथा शिलालेख महत्वको जिवन्त बनाई राख्न आवश्यक कडि हुन् भने सालिकलाई जीवन दिने काम शिल्प्कारकै हातमा हुन्छ्न् । महेश तुलाधर जिवन्त इतिहास, अवस्था बताउने एक सच्चा जिवित राष्ट्रिय बिभुती हुन् ।
वि.सं.२०२५ भदौ २८ गते लक्ष्मी देवी तुलाधरको कोखबाट बालकृष्ण तुलाधरको आँगन, ज्याबहाल, लगन काठमाडौ-२१ मा भएको थियो । उहाँको जीवनलाई सार्थक महत्वपुर्ण बनाउन उहाँसँग भाइहरु ३ तथा दिदी २ र बहिनी १ को साथसहयोग छन् । उहाँसँग आफ्नो जीवनलाई बुझ्नुहुने जीवनकै आधा रुप रिता बज्राचार्य एकमुखे रुद्राक्षको रुपमा हुनुहुन्छ भने रुद्रक्षकै फल स्वरुप छोरा रोमित र छोरी लेनिया तुलाधर सभ्य समाजको बीउ स्वरुप हुर्कदै छन् ।
उहाँले अंक र अक्षर चिन्नुलाई मात्र शिक्षा भन्न छोडी आफु खेलेकै माटोलाई पाठशाला बनाई गुरु आफ्नै बुबालाई मान्नु भएको छ । कक्षा १० सम्मको अध्ययनलाई व्यवहारिक सीपले शृगारेर आफुलाई दक्षताको शिखरमा पुर्याउन उहाँले आफ्नो यात्रा वि.सं. २०४० मा थाल्नु भएको थियो । बुबाको सहयोगी हात १५ वर्षकै उमेरमा बनेको थियो । आफ्नो कमि बुबाले औल्याउँदै आफु दक्ष हुनु पुर्खाकै गुण सम्झिदै नेपालको पहिलो सालिक मुर्तिकार स्वर्गीय रत्न बहादुर तुलाधर ज्यु नाति बन्न पाउनु गहन ठान्नुहुन्छ । स्वर्गीय रत्न बहादुर तुलाधर चन्द्र शमशेर पाला, वि.सं. १९८५ मा पहिलो सालिक बनाउनुहुने प्रबुद्ध व्यक्तित्व मध्येको एक हुन् । उहाँले न्युरोड महांकाल अवस्थित आर्मी अस्पतालमा बन्दुक बोकेको सिपाही, सिंहदरबारको सिंह र सहिद गेटको सालिक बनाउँदै गर्दा स्वार्गारोहण हुनुभएको थियो । पछि उहाँकै छोरा अर्थात महेश तुलाधरका बुबाले बि.सं. २०१८ सालमा सहिद गेटको सालिक बनाएर आफ्नो यात्रा सुरु गर्नु भएको थियो । हाल उहाँ ९१ वर्षको हुनुहुन्छ भने उहाँको साथ अर्थात महेश तुलाधरकी आमाले वि.सं. २०७४ सालमा आफ्नो देहलीला त्याग्नु भएकी थिईन् । बालकृष्ण तुलाधरले अनेकन शाही सैनिक मञ्चका सालिक लगायत राजा महाराजाहरुका सालिक बनाएको योगदान समाजमा तस्बीर झै छर्लङ्ग छन् । राज्यले यस्ता सीप जन्माउने योजना बनाउनुपर्छ ।
वि.सं. २०५० सालमा महेश तुलाधरले भिमसेन थान अगाडिको सालिक तथा अरनिको राजमार्ग राखिएको अरनिको सालिक दुरुस्त बनाएर आफ्नो यात्रा सुरु गरेको थियो । काठमाडौ-१६ का दिवंगत वडाध्यक्ष मुकुन्द रिजालको पुर्णकदको सालिक वि.सं. २०८१ मा बनाई तारिफ योग्य काम गर्नु भएको थियो । त्यस्तै वि.सं. २०८२ सालमा कीर्तिपुर अवस्थित नगरमण्डप कीर्ति बिहारमा श्रद्वेय सुदर्शन महास्थवीरको पुर्णकदको सालिक र विरंगना कीर्तिलक्ष्मीको पुर्णकद सालिक बनाएर आफ्नो योगदान पहिचान स्वरुप प्रस्तुत गरेका छन् । वि.सं. २०८२ कै साललाई हेर्ने हो भने उहाँले भक्तपुरमा सहिद राधेश्याम जोछेँको र बसन्तपुर श्रीखण्ड तरुमुल महाविहारमा लीला बज्र बज्राचार्यको पुर्णकदको सालिक बनाएर आफुलाई दक्ष र योग्य व्यक्ती स्वरुप समाजमा स्थापित गरेका छन् ।
मुख्य अंशहरू
सालिक निर्माणको प्रारम्भ नेपालकै पहिलो सालिक रत्नबहादुर तुलाधरले बनाएको उल्लेख छ । त्यसपछि युवा बालकृष्ण तुलाधरले गीत–संगीत र सैनिक मार्चसँग सम्बन्धित सालिकहरू बनाएका छन् । महेश तुलाधरले बनाएका सालिकहरू असंख्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक र वीरताको प्रतीक स्वरूप मूर्तिहरू निर्माण गरेका छन् । १००० भन्दा बढी सालिकहरू बनाई सकेका छन्, काठमाडौं बाहिर पनि नेपालगञ्ज, रामेछाप लगायत बिभिन्न जिल्लाहरुमा उहाँले बनाएका पुर्णकदका सालिकले ठाउँ विशेषलाई परिचित गराएका छन् । नुवाकोटमा १० बर्षे जनयुद्धमा मारिएका ६० जना शहिदहरुका प्रतिमा बनाएर एक कीर्तिमान कायम गर्न सफल हुनु भएको छ । उहाँले जीवनका भोगाइ र त्यसबाट प्राप्त अनुभवलाई जीवन दिई रहनु भएको छ । यो आफैमा एक सौन्दर्य स्वरुप सुगन्धित समाजको लागि सुवास हुन् भने ती हजारौं सुवास मध्ये केही यहाँ समावेश गरेको छु ।
१. अरनिको सालिक (नेपाल-चीन सम्बन्ध र कला प्रतीक)।
२. शाहिदहरूको सालिक (नागरिक स्वतन्त्रता र लोकतन्त्र स्मरणार्थ)।
३. कर्णबहादुर राणा, टंक प्रसाद आचार्य, गणेशमान सिंह, भीमसेन थापा जस्ता ऐतिहासिक व्यक्तित्वका सालिक।
४. नारायण गोपाल, मास्टर अर्जुन गिरी, भीमसेन दास प्रधान, भक्तपुर, पोखरा लगायत विभिन्न स्थानका सांस्कृतिक/राजनीतिक प्रतीकका सालिक।
५. बुद्ध, मायादेवी, शिवजी, गणेश, शंकराचार्य, आदि धार्मिक मूर्तिहरू ।
उहाँका धेरै सालिकहरू वि.सं.२०३० देखि वि.सं. २०८० सालबीच निर्माण भएका छन् । ऐतिहासिक र धार्मिक व्यक्तित्वका साथै आधुनिक सांगीतिक व्यक्तित्व (जस्तै नारायण गोपाल) सम्मका सालिक समेटिएका छन् । विविध स्थान (काठमाडौं, भक्तपुर, गोदावरी, पोखरा, रामघाट, गोलढुङ्गा आदि) मा निर्माण भएका छन् ।
अन्तमा, उहाँका यस्ता दस्तावेजले देखाउँछ कि महेश तुलाधर केवल एक मूर्तिकार मात्र नभई नेपालका इतिहास, संस्कृति, कला र वीरताको जीवित स्मारकहरू निर्माण गर्ने महत्त्वपूर्ण शिल्पकार हुन् । उनले बनाएका सालिकहरूले वीरगति प्राप्त शहीदहरूको सम्झना कायम गरेका छन् । राष्ट्रिय नायक, कलाकार र धार्मिक प्रतीकलाई जनमानसमा अमर बनाएका छन् । नेपालको सार्वजनिक स्थलहरूलाई कलात्मक र ऐतिहासिक बनाएका छन् । महेश तुलाधरलाई आधुनिक नेपालमा सालिक संस्कृतिका मुख्य शिल्पकारका रूपमा समाज र राष्ट्रले स्थान दिई विश्वका अन्य महत्वपुर्ण व्यक्तित्वहरुको सालिक निर्माण गर्न सक्षम हुनुहुन्छ भन्दै प्रवर्द्धन गर्नु राज्यको दायित्वसँगै आर्थिक उत्पादन गर्ने योजना बनाउनु पर्छ । महेश तुलाधरका कलाकृतिहरूलाई “नेपालका सालिक इतिहास” शीर्षकमा अध्ययन सामग्रीका रूपमा प्रयोग गराउने योजना पनि राज्यले बनाउनुपर्छ । राणाकालमा मृत्युदण्ड पाएका चार सहिदहरुको पुर्णकदको सालिक बनाएपछि महेश तुलाधर चर्चित परिचित हुनु भएको थियो । हाम्रा लागि यी तीनै पुस्ता जिवन्त इतिहास हुन् । राज्यले थप उर्जा थप्ने योजना बनाउनुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर