राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा सम्पन्न

काठमाडौं,  - राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विशेष क्षमा पूजा सम्पन्न भएको छ। राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी पूजा सामग्री पठाएका थिए। यो सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको थियो।

केही दिनअघि भीमेश्वरको भीमसेन शिलामा पसिना आएपछि अनिष्ठको चिन्ता गर्दै मन्दिरका पूजारीमार्फत राष्ट्रपतिलाई क्षमा पूजाका लागि आग्रह गरिएको थियो। भीमसेनलाई पसिना आउनु राष्ट्रप्रमुख वा राष्ट्रमा अनिष्ठ हुने विश्वास रहेको छ। गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो, जसका कारण क्षमा पूजा आवश्यक ठहरिएको थियो।

पूजामा स्थानीय अधिकारीहरू, पूजारीहरू, र श्रद्धालुहरूको सहभागिता रहेको थियो। यस क्षमा पूजाले देशको समृद्धि, शान्ति, र सुरक्षा कायम रहोस् भन्ने कामना गरिएको छ।

प्रतिक्रिया