चलचित्र ‘लाज शरणम्’ को गीतमा मेयर बालेन शाहको स्वर, आज सार्वजनिक हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ को गीतमा स्वर दिएका छन्। उनको स्वर रहेको ‘नेपाल हासेको’ बोलको गीत आज दिउँसो ३:१५ बजे सार्वजनिक हुने भएको छ।


बालेन शाह मेयर बनेपछि उनले गाएको यो पहिलो सार्वजनिक गीत हो। उनले यसअघि कुनै पनि औपचारिक गीत सार्वजनिक गरेका थिएनन्।


चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको फिल्म हो। फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुने यस चलचित्रले केही दिनअघि ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरिसकेको छ।


चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् भने निर्देशन कुमार कट्टेल ले गरेका छन्। साथै, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ।


‘लाज शरणम्’ जेपिटी क्रियसन को ब्यानरमा निर्माण भएको हो। चलचित्रका निर्माता नवीन श्रेष्ठ, सह-निर्मातामा राम नरेश शाह र सृजना खड्का रहेका छन्।


‘नेपाल हासेको’ गीतको सार्वजनिक कार्यक्रमलाई लिएर चलचित्र टिम उत्साहित रहेको छ। मेयर बालेन शाहको गायन रहेको गीत दर्शक-श्रोतालाई कत्तिको मन पर्छ भन्ने विषय चासोको रूपमा रहेको छ।

प्रतिक्रिया