प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५० प्रतिशत मतपत्र छपाइ सम्पन्न


काठमाडौँ, माघ ६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ।

केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार थान मतपत्र छपाइ गरिएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फ कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ, जसको करिब ५० प्रतिशत छपाइ हालसम्म पूरा भइसकेको छ।

यसैबीच, जनक शिक्षा सामग्री केन्द्रले निर्वाचन आयोगलाई हालसम्म कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्र प्याकिङ सम्पन्न भएको केन्द्रले जानकारी दिएको छ।

केन्द्रका अनुसार हालसम्म कूल सात हजार ८४१ बाकस मतपत्रको प्याकिङ पूरा भइसकेको छ भने १२ हजार ९८९ बाकस मतपत्र प्याकिङ गर्न बाँकी छ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ भने उम्मेदवारको मनोनयन दर्ता, दाबी–विरोध प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह वितरण भएपछि मात्रै सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

प्रतिक्रिया